जनकपुरधाम : वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने नेपालीको सोमबार साँझ ८ बजेर ५ मिनेटमा निधन भएको हो ।
लामोसमयदेखि बिरामी भएर थला परेका नेपालीको ८० वर्षको उमेरमा जनकपुरधाम २३ लादोबेला स्थित निवासमा निधन भएको उनका छोरा राघवेन्द्र साहले जानकारी दिए ।
उनको पार्थिव शरीरलाई आजै जनकपुरधामको नगरपरिक्रमा गराई जनकपुरधाम भएर बग्ने दुधमती नदीमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उनलाई तत्कालीन ब्यवस्थाले जेल हालेको थियो । २०३६ र २०३९ सालमा क्रमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक वर्ष जेल बसेका थिए । पत्रकारिता, साहित्य, सस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएका नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याए वापत प्रजातान्त्रिक सेनानीको रुपमा २०६५ मा अभिनन्दन गरिएको थियो ।
राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि विघटन भएको संसदका सदस्य सरोजप्रसाद कोइरालाले प्रजातन्त्र पुनः स्थापनाका लागि हतियार बन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरे । तर आफू गान्धिवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होइन, कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर जवाफ दिए अनि लागे सक्रिय पत्रकारितामा !
नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्थे । उनले समाजको लागि परिवर्तनकारी सोच, सामाजिक रुपान्तरणको लागि कलम निरन्तर चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए । उनी गान्धी विचारबाट प्रभावित भएर पोशाक पनि गान्धी कै जस्तो खादी र सुती लगाउथे ।
शाेक सन्देश
नेपाल पत्रकार महासंघकाे मधेस प्रदेश कार्यसमितिका अध्यक्ष राजेश कर्णले शोक सन्देश विज्ञप्ति जारी गर्दै नेपालको पत्रकारिताको जिउँदो इतिहास रहनु भएका प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली अब हाम्रो बीच रहनु भएन । सोमवार सांझ वरिष्ठ पत्रकार नेपाली ज्यूको ८० वर्षको उमेरमा निधन भयो । क्यान्सर रोगबाट पीडित वरिष्ठ पत्रकार नेपाली झण्डै ६ महिनादेखि अशक्त अवस्थामा जीवन व्यतित गरिरहनु भएको थियो । नेपाली नेपालको लोकतन्त्र, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि जीवन भर संघर्षरत रहनु भयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, पदकहरुवाट सम्मानित हुनु भएका वरिष्ठ पत्रकार नेपालीको नेपालको पत्रकारितामा महत्व स्थान रहेको छ । उहाँको निधनले नेपाली पत्रकारिता जगतमा अपूरणीय क्षति भएको छ ।
वरिष्ठ पत्रकार नेपालीको दुई छोरा र तीन छोरी रहेको मध्ये छोरा रविन्द्र साहको यस अघि नै निधन भई सकेको छ भने राघवेन्द्र साह पनि पत्रकारिता पेशामा संलग्न रहनु भएको थियोे र पछिल्लो पटक उहाँ उमनपा २३ को वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
यस शोक सन्तप्त घडीमा मृतक परिवारजनप्रति हार्दिक सम्वेदना व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको लागि माता जानकी ज्यूसँग कामना गर्दै वरिष्ठ पत्रकार नेपालीको मृत्युपछि हामी निकै मर्माहत भएका नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति अध्यक्ष राजेश कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच नेपाल पत्रकार महासंघ मधेश प्रदेशले नेपाल पत्रकार महासंघको झण्डा ओढाई वरिष्ठ पत्रकार नेपाली ज्यूको अन्तिम विदाई गर्नुभयो ।