गौशाला : महोत्तरी सहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।
सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौमा परेको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ । आज सखारै एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी) को भिड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।
मिथिलामा साउन शुक्लपक्ष सुुरु भएसँगै मिथिलामा यो पर्वको तयारी देखिने गरेको छ । पर्वमा दिदीबहिनीले राखी बाँधी दिएर मिष्टान्न परिकार खुवाएपछि दाजुभाइले वस्त्रआभुषण र नगद दक्षिणा चेलीलाई दिने गर्छन् ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका गुरु शुक्राचार्यले देवतासँगको युद्धमा जानअघि शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएको डोरा (रक्षाकवच, रक्षासूत्र) बाँधिदिएका विश्वासको परम्परामा पुरोहितबाट डोरा बाँध्ने चलन छ ।
राखी पर्व मिथिलामा सबै जातजाति, सम्प्रदाय र धर्मावलम्बीले मनाउने गरेका छन् । एक अर्को परम्पराभित्रका समुदायले आपसी देखासिकी र घुलमिलले पर्व साझा बन्दै गएका छन् । पछिल्लो दशकमा अत्याधुनिक सूचना र सञ्चार प्रविधिको विकासले फरक फरक परम्पराका समुदाय एकाकार बन्दै गएर पर्व साझारुपमा मनाउन थालेको छ ।
रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी खाने चलन
जनै पूणर्िमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।