धनुषा, भदौ २३ गते ।
मेलामा आफूहरुले भनेको आरकेस्ट्रा नाच नल्याएको भन्दै धनुषामा कृष्णाष्ठमी मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ ।
धनुषाको कमला नगरपालिका-१ मंगराहास्थित व्यक्तिगत रूपमा आयोजना गरिएको कृष्णाष्ठमी मेलामा ओरकेष्ट्रा नाच ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको हो ।
शुक्रबार राति करिब १० बजेतिर मेलाका लागि डिजेल लिएर फर्किरहेका केही युवाहरुले बीच बाटोमा रोकेर ज्यान मार्ने प्रयास गरेको धनुषा प्रहरीले जनाएको छ ।
डिजेल लिएर फर्किरहेका आयोजक समितिका तीनजना युवाहरूलाई कमला नगरपालिकाको मंगराहा र नरहा टोलको बीचमा टाउको, आँखा तथा अनुहारमा निर्घात कुटपीट गरि घाइते बनाइएको छ । निर्घात कुटपीटबाट घाइते हुनेहरुमा मेला आयोजक समितिको तर्फबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका लभ कुमार महरा रहेका छन् । उनीहरूलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरिएको घाइतेहरुले बताएका छन् ।
घाइते तीनै जनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । आक्रमणमा परेकाहरुको मामा राम पुकार महराको घरमा मेला महोत्सवको व्यवस्थापनमा खटेका थिए । उनीहरुको साथबाट आक्रमणकारीहरुले स १० प ६२७६ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरूको साथमा रहेका दुई थान मोबाइल, २५ हजार रुपैया नगद लगायतका सामान लुटेर भागेको घाइतेहरुले बताएका छन् ।
कृष्णाष्ठमी मेलामा आरकेष्ट्रा नचाउने कुरा भएपनि आरकेष्ट्रा ननचाएको भन्दै लगमाका केही युवाहरुसँग नाच कार्यक्रमको बेला नै भनाभन भएको थियो । रातिमा नाच गराउनको लागि विद्युत कटन सक्ने भन्दै जेनेरेटरको लागि डिजेल ल्याउन जाँदा उनीहरुलाई ती युवाहरूलाई पिछा गरेको घाइतेहरुले बताए ।
सुरुमा लगमा बजारस्थित रहेको पेट्रोल पम्पमा डिजेल ल्याउन जाँदा त्यहाँ नभेटेपछि कमला नगरपालिका-६ मडानस्थित रहेको पेट्रोल पम्पबाट डिजेल लिएर मंगराहातर्फ जाँदै गर्दा मंगराहा र नरहाकोबीचमा रोकेर ज्यान मार्ने प्रयास गरिएको हो ।
घाइते लभ कुमार महराले सोही ठाउँ बस्ने अनु यादवको छोरा अन्दाजी १८ वर्षको बिजय यादव सहित ५–६ जना मिलेर ज्यान मार्ने प्रयास गरेको बताएको छन् । उनीहरुसँग साँझ भनाभन भएको थियो ।
तीनै जनालाई फाईटर र फलामे हतियारले प्रहार गरेको देखिएको छ । टाउकोमा गम्भिर चोट लागेको एक जनाको अवस्था गम्भिर रहेको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीले पीडितको बयानको आधारमा अहिले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बताएको छ । घटनामा तीन जना फरार रहेको बताईएको छ ।