काठमाडौं, असोज ९ गते ।
पत्रकार आचारसंहिताको उल्लंघन नहुने गरी पत्रकारिता गर्न नयाँ खुलेका अनलाइन सम्पादक, प्रकाशकहरुले प्रतिवद्धता जनाएका छन् । उनीहरूले सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरु केन्द्रित हुने प्रेस काउन्सिल नेपाल समक्ष दृढता समेत राखेका छन् ।
काउन्सिलद्धारा मङ्गलवार राखिएका अभिमुखिकरण कक्षापछि उनीहरूले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाए ।
अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमिति अभिमुखीकरण सञ्चालन गरी अनुगमन समेत गर्दै आएको छ । त्यसक्रममा मङ्गलवार विषयगत विज्ञद्वारा देशका विभिन्न भागबाट सञ्चालनमा आउन लागेका सञ्चार माध्यमलाई आचारसंहिताका विभिन्न पक्ष र पछिल्ला समस्याहरुबारे प्रष्ट पारिएको थियो ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ सञ्चारमाध्यम सञ्चालनमा आउनुमात्र ठूलो कुरा नभएका भन्दै जनमानसको विश्वास जित्न नसके सिंगो पेशा नै संकटमा पर्ने तर्फ सचेत हुनुपर्ने बताउभुयो ।
मंगलबारको अभिमुखिकरणमा विज्ञका रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार आचारसंहिता २०७३, (पहिलो शंसोधन, २०७६) मा भएका व्यवस्थाहरुबारे प्रशिषण दिनुभयो । उहाँले पत्रकारले गर्न नहुँने १४ वटा बुँदाबारे स्पष्ट पार्नुभयो ।
विषय विज्ञ तथा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले काउन्सिलले जारी गरेको ४ वटा निर्देशिकाबारे प्रशिक्षण दिनुभयो । उहाँले बालमैत्री सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिक , महिला सञ्चार निर्देशिका र जेष्ठ नागरीकमैत्री सञ्चार निर्देशिकामा व्यवस्था भएका पत्रकारले गर्न नहुने प्रावधानबारे जानकारी दिनुभयो ।
पोखरेलले पत्रकार आचारसंहिता र खनालले काउन्सिलले जारी गरेका विभिन्न सञ्चार निर्देशिकाको कार्यान्वयन, अनुगमन पक्षबारे प्रष्ट राख्नुभएको कार्यक्रमको सहजिकरण सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभयो ।
यसरी दर्ता र सूचिकरण भएका अनलाइनलाई काउन्सिलले विशेष अनुगमन समेत गर्ने र त्यसको प्रतिवेदन समेतका आधारमा नवीकरण र अन्य कार्वाही गर्ने भएको छ । कार्यक्रममा विभिन्न विधाका ३५ वटा नयाँ खुलेका सम्पादक र प्रकाशकहरु सहभागी थिए ।