जनकपुरधाम : राष्ट्रिय जनावर गाईको देशव्यापीरुपमा हत्या भइरहँदा पनि सरकारले कानुन बमोजिम कार्वाही नगरेको भन्दै साधुसन्तहरु आन्दोलनमा उतिर्ने भएका छन् ।
मुलुकमा श्रृंखलावद्धरुपमा गाईको हत्या भइरहेको भन्दै यसप्रति जानकी मन्दिरले आफ्नो ध्यानार्षण भएको जनाउँदै विरोध प्रदर्शनको तयारीमा जुुटेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले श्रृंखलावद्धरुपमा गौहत्या भइरहँदा पनि राज्यले राष्ट्रिय जनावरसमेत रहेको हिन्दु धर्ममा गौलाई माता भन्ने गरेपनि राज्यले बेवास्ता गरेको आरोप लगाउँदै कडा आन्दोलन गर्ने जनाएका छन् ।
उनले यसका लागि यही असोज १२ गते जनकपुरधाम विरोध प्रदर्शनको तयारी गर्ने बताएका छन् । धरानदेखि खोटांगसम्म हत्या हुँदा पनि सरकारले कार्वाही प्रक्रिया अघि नबढाएको भन्दै तत्काल आन्दोलन गर्ने चेतावनी उनले दिए । उनले भने, ‘मुलुकमा गौहत्या व्याप्तरुपमा भइरहँदापनि सरकारले कानमा तेल हालेर सुतेकाले यही असोज १२ गते शुक्रबार जनकपुरधाममा गौहत्याको विरोधमा विरोध प्रदर्शन गर्दैछौँ ।’
गौहत्या श्रृंखलावद्धरुपमा बढ्दै गइरहेकाले यही असोज १२ गते शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेर सचेत गराउने कार्यक्रम गर्ने उनले बताए ।
उत्तराधिकारी महन्त रामरोशन दासले बताएअुनसार सनातन हिन्दु धर्म तथा गौमातालाई संंरक्षण गर्न र रक्षाका लागि जनकपुरधाममा विरोधसभा गर्न लागेको छ । यस विरोधसभामा हजारौँ सनातन हिन्दु धर्मावलम्बीलाई उतार्ने तयारी भइरहेको छ । यसका लागि विभिन्न मुल व्यवस्थापन समितिहरुसमेत गठन गरिएको छ ।