जनकपुरधाम : सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट करिब ८ लाख रुपैयाँ बराबरको चोरी पैठारीको रेडियो सेट (वाकिटकी) बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्यको १ सय वटा पेर्टेबल वाकिटकी ह्याण्ड सेट सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताले बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्ना साथै फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।
यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्हीस्थित सीमा ईलाकाबाट असोज १२ गते करीब २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीन सहितको मोटरसाइकल बीओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।
बरामद रेडियो सेट, प्रिन्टर मेसिन र मोटरसाइकल आवश्यक कार्वाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाईएको सह प्रवक्ता थापाले बताए ।