जनकपुरधाम : धनुषाको जनकपुरधाममा रहेको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष यादव रातभर थुनामा परेका छन् ।
बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको लफडामा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।
स्रोतका अनुसार डान्सबारमा केटीको विषयमा लफडा भएपछि संचालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो । बाहिर भएपछि झडप नै भएको र दुबै पक्षका एक/एक जना घाइते भएका छन् ।
झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी पुगेर सभापति यादवसहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
इप्रका ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले चोकमा दुई पक्षबीच झडप भएको बताए । झडपमा दुई जना घाइते भएको र सोही क्रममा सभापति यादवलाई नियन्त्रणमा लिएको बताए ।
प्रहरीले सभापति यादवलाई रातभर थुनामा राखेर आज बिहान छाडिएको छ । प्रहरी निरीक्षक साहले दुबै पक्ष छलफल गरी विवाद मिलाउन सहमती गरेपछि आज विहान सभापति यादवलाई छाडिएको बताए ।
यादव नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाट स्ववियू सभापतिमा निर्वाचित भएका हुन् ।