काठमाडौं : इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । इजरायलको तेलअभीभ बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५३ जना घर फर्किएका छन् । विमानभित्र परराष्ट्रमन्त्री एनपी साउदले नेपालीहरुलाई स्वागत गरेका थिए ।
स्वदेश फर्किँदै गर्दा एक विद्यार्थी विपिन सुवेदीले भनेका छन्, ‘हामी सपना बुनेर आएको, सपना टुटेर फर्कनु परेको छ । आज हाम्रो एउटा चीत्कार भनेको हाम्रो प्रिय साथी विपिन जोशीको खोजीको हो, हामी बाँच्यौँ तर, हामी जिन्दगी भरी मरीमरी बाँच्नुपर्ने भयो । सरकार, केही त होला नि ।’
उनले भनेका छन्, ‘सरकार ? मानवअधिकारी ? एमनेस्टी ? केही त छ ? पक्कै छ सरकार † पक्कै होला । खोज्नु पर्यो । भगवानले हामीलाई बचाउनु भयो । उसलाई पनि बचाउनुहुन्छ । तर केही त गर्नुपर्यो । हामीले प्रार्थना गरेझैं सरकारले खोज्नुपर्यो, लाग्नुपर्यो । माहोल तात्तिएपछी मात्रै भन्दा, उसलाई देशको छोरा जसरी खोज्नुपर्यो । बिपिनको सुरक्षित आगमनको लागि नेपाल पर्खिरहेको छ । बिन्ती हाम्रा सबै साथीहरुो शव पनि छिटो उपलबध गराइदिनु होला, हाम्रा दिदी, भाइ, बुवा आमाका आँखा सुकिसके आफ्ना मुटुका टुक्राहरुलाइ कुर्दा कुर्दै । अन्तिममा हामीलाई सकुशल उद्घार गरी स्वदेश फिर्तीको लागि अहोरात्र खटिनुहुने र सहयोग गर्नुहुने सम्पूर्णमा नमन ।’
अर्का विद्यार्थी लुइस रिजाल लेख्छन्, ‘हामीलाई त जीवन दान गरेर सकुशल नेपाल पठाउनु भयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरुलाई हरदम साथ र सहयोग दिन र मेरो हाराएको साथी लाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौं ।’
सो विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने हुनेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली बिहीबार बिहानै इजरायल प्रस्थान गरेको थियो । इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसिप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । सभार : राजधानी दैनिक