काठमाडाैं : इजरायलबाट स्वेदेश फर्किएका नेपाली विद्यार्थीले हमासको आक्रमणमा सँगैका साथी गुमाउँदा अत्यन्तै पीडा भइरहेको बताएका छन् । गएराति नेपाल एयरलाइन्सको जहाजबाट त्रिभुवन विमान स्थलमा उत्रिएपछि उनीहरुले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा चार दिनसम्म त्रासमा बस्दा भोगेको पीडा वर्णन गरे ।
सिरहा घर भएकी विद्यार्थी शोभा पासवानले इजरायलमा सँगैका साथीलाई गुमाउँदा अत्यन्तै पीढा भइरहेको बताइन् । रामपुर कृषि क्याम्पसकी विद्यार्थी पासवान सुदूरपश्चिम विश्वविद्यालयबाट सिक्दै कमाउँदै कार्यक्रमको लागि इजरायल गएकी थिइन् । ‘हमासको आक्रमणपछि आकाश पूरै कालो थियो, धुँवाले ढाकिएको थियो । आक्रमणबाट साथीहरु गुमाउँदाको पीढा छातीभरी छ,’ उनले भनिन्, ‘हामी त बाँचेर स्वदेश आउन पायौँ, तर सँगैका साथी गुमाउँदा जिन्दगीभर पीडा हुने भयो । ’
उनले चार दिनसम्म भोकैप्यासै बंकरभित्र बसेर ज्यान जोगाएको बताइन् । आक्रमणबाट साथीहरुको मृत्यु भएको थाहा पाउँदा बंकरभित्र मानसिक रुपमा निकै कमजोर बनेको भनाई छ । ‘सँगै गएको साथी राजेश स्वर्णकार र गणेश नेपालीलाई हामीले गुमायौँ, विपिन जोशी भन्ने साथी गायब छ । तपाईंहरुले उसको खोजी गरिदिनुहोला । इन्टरमेटहरु गुमाउँदा कति पीडा हुन्छ म भन्न सक्दिनँ ।’