
गाैशाला : महाेत्तरीकाे गौशालामा ११ हजार कुमारी कन्याद्वारा दुर्गा मन्दिरमा कलश स्थापना गरिएको छ । हिन्दुहरुकाे महान् चाड दशैँ पहिलो दिन आज घटस्थापनाको अवसरमा ११ हजार कुमारी कन्याद्धारा गाैशाला नगरपालिका ५ गाैशाला बजार अन्तर्गत रहेको दुर्गा मन्दिरमा कलश स्थापना गरिएको हाे ।
गौशाला बजार स्थित नजिकै रहेको मरहा खोला (माण्डवी) गंगाबाट ११ हजार भन्दा बढी कुमारी कन्याले जल ल्याएर गौशाला बजारको परिक्रमा गरि दुर्गा मन्दिरको प्रांगणमा कलश स्थापना भएको छ ।
शस्त्र प्रहरीको व्याण्डको टोली, लोकवाजा, घोडा, उँट सहितको लावालस्कर सम्मिलित कुमारी कन्याहरुको समुहले ल्याएको कलश मन्दिरमा राखिएको मेला व्यवस्थापन समितिका अध्यक्ष सीताराम साहले जानकारी दिएका छन् ।
नवनिर्मित दुर्गा मन्दिरमा दुर्गामाताको मुर्ति ल्याएपछि यस मन्दिरमा दर्शनार्थीहरुको अत्याधिक मात्रामा घुईचो लागेपछि मन्दिर परिसरमा व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रसादीको बन्दोवस्त ज्वेलर्स समुहद्धारा
गौशाला बजारमा रहेको दुर्गा मन्दिरमा पूजा तथा दर्शनका लागि आएका दर्शनार्थीहरको लागि माता दुर्गाको प्रसादीको वन्दोवस्त यहाँका ज्वेलर्स समुहले गरेका छन् । पहलो दिनको प्रसादी सो समुहले गरिएको मेला समितिका अध्यक्ष साहले जानकारी दिएका छन् ।
मेला व्यवस्थापन समितिका अध्यक्ष सीताराम साहले यो मन्दिर नेपालको सबभन्दा विशाल दुर्गा मन्दिर रहेकोले छिमेकि मुलुक भारतको राजस्थानबाट शंख मरमरको लाखौ मूल्य पर्ने मुर्ति यसपाली दुर्गा मन्दिरमा स्थापना गरिएको जानकारी दिएका छन् । उनले भने , “यहाँ घटस्थापना देखि कार्तिकको पुर्णिमासम्म भव्यताका साथ मेला लाग्ने गर्ने गर्दछ ।
दुर्गा माताको मुर्ति अन्य ठाउँमा दशमीको दिन विसर्जन भएपनि गौशालामा कार्तिक पुर्णिमाको दिन मात्र विसर्जन गरिन्छ । यो मेलामा कोशौ दुरबाट श्रद्धालु भक्त जनहरु आउने गर्दछन । उनीहरुको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिसिटिभी क्यामेराको व्यवस्थापनका साथै समाजसेवी व्यापारी लगायत युवाहरुलाई समेत खटाइएको छ ।”
यता गौशाला नगरपालिका २ निगौल चौक लगायत जिल्ला कै सम्सी, एकडरा, जलेश्वर लगायतको ठाउँहरुमा पनि भव्यताको साथ दुर्गा मन्दिरमा कलशस्थापना गरिएका छन् ।





















