काठमाडौं : इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये तिन नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ ।
आइतबार बिहान लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शव काठमाडौं पुगेको हो । आइपुगेको शवलाई श्रद्धाञ्जली दिइएको छ । नारायण न्यौपानेको शव भने गएराति नै आइपुगेको हो। शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । नेपाली विद्यार्थीको शव बुझ्न परराष्ट्र मन्त्री एनपी साउद र नेपालस्थित इजरायलका राजदूत खनान गोडेर, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको थियोे । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा निधन भएको थियो ।
इजरायली पक्षले शव हस्तान्तरण गरेपछि नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गत अक्टोबर ७ मा हमासकाे आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीकाे मृत्युु भएकाे थियाे । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएकामा एक जना नेपाल फर्किसकेका छन् । तीन जना भने हाल इजरायलमै उपचाररत छन् ।