गाैशाला : महोत्तरीमा हत्याकाे आरोपमा दुईजना भारतीय युवकहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएको १९ वर्षीय दिपक मलिक र सोहि ठाउँको मधुबनि साहारघाट बसबरिया घर भएको १८ वर्षीय अमित मलिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरिले बताए ।
उनिहरुले पिपरा गाउँपालिका- ५ हर्दियाटोलका १९ वर्षीय आशिक पासवानको हत्या गरेका हुन् । पासवानको हत्या भएको अवस्थामा शव बिहीबार साझ स्थानीय जगदिश साहको खेतमा फेला परेको थियो ।
दसैंको अवसरमा लागेको दुर्गा मेलामा भएको विवादको निहुँमा दुबैजना मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको डीएसपी गिरीले जानकारी दिए ।
दुबै जना पिपरा गाउँपालिका ५ स्थित आफ्नै मामा सुरेश मलिकको घरमा बस्दै आएका हुन् । हत्या पश्चात अनुसन्धानको क्रममा दुबैलाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान पश्चात घटनामा उनिहरु संलग्न रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरी दुबैलाई सार्वजनिक गर्दै डिएसपी गिरीले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।