
दिपकजंग शाही
सुर्खेत, कात्तिक ११ गते ।
मुगुमा छोराछोरीसहित मृत भेटिएकी श्रीदेवी बोहोराका श्रीमान दीपक बोहोरा कतारबाट घर आएका छन् । उनी शुक्रबार साँझ कतारबाट उडेका थिए । काठमाडौंबाट नेपालगन्ज र त्यहाँबाट ताल्चा विमानस्थल हुँदै उनी शनिबार बिहान घर पुगेका हुन् ।
उनी वैदेशिक रोजगारीका लागि गत वर्ष मंसिरमा कतार गएका थिए । त्यसअघि पनि कतारमै रहेको दीपक गत वर्ष बिदामा घर आएर फर्किएका हुन् ।
श्रीमान घर पुगेपछि मुचुल्का गरेर प्रहरीले शवहरू पोस्टमर्टमका लागि सदरमुकाम स्थित जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सदरमुकामदेखि घटना भएको मुन्दु गाउँ दुई घन्टाको दुरीमा पर्छ ।
शुक्रबार बिहान श्रीदेवी, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए । उनीहरूको घरभित्रै शव फेला परेको थियो ।
धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ ।
दसैंका दिन श्रीदेवी तीन जना छोराछोरी सहित टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन् । कोटिल्लाबाट ८ गते बेलुका घर फर्किएका उनीहरूको सोही राति हत्या भएको आशंका गरिएको छ ।
९ गते बिहानदेखि १० गते बिहानसम्म घरबाहिरबाट ताल्चा लगाएको देखेपछि स्थानीयले ढोका फोडेर हेरेका थिए । उनीहरू मृत भेटिएपछि स्थानीयले नै प्रहरीलाई शनिबार बिहान खबर गरेका थिए । प्रहरीले घटना शंकास्पद देखिएपछि विस्तृत अनुसन्धानका लागि थप टोली परिचालन गरेको छ ।
शनिबार कुकुर सहितको विशेष टोली घटनास्थल गएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र कोहलपुरबाट प्रहरी टोली मुगु पुगेको हो । सभार : रातोपाटी