काठमाडौं : सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
टिकटकमा पछिल्लो समय सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको उहाँले बताउनुभयो । मन्त्री शर्माले तत्काल टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिँदै कार्यान्वयनमा जान प्राविधिक रूपमा केही समय लाग्ने बताउनुभयो ।
यसअघि सरकारले टिकटक मुख्यालयका प्रतिनिधिसँग सामाजिक सद्भाव भड्काउने सामग्री स्वतः हट्ने र त्यस्ता प्रयोगकर्तालाई कारबाही गर्ने विषयमा छलफल गरेको थियो । भारत, अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, डेनमार्क, क्यानडा, अफगानिस्तान, ताइवान, नेदरल्यान्ड्सलगायतका देशमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।
टिकटक आजैदेखि बन्द हुन्छ: गृहमन्त्री
टिकटक आजैदेखि बन्द हुने भएको छ। प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टाे बाटाेमा हिँड्याे : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटाेमा हिँडेकाे टिप्पणी गर्नुभएकाे छ ।
आज साेमवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।’
महामन्त्री थापाले सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएकाे भन्दै याे कदम सच्चाउनुपर्ने बताउनुभएकाे छ ।