
बैतडी, मंसिर २ गते ।
बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा कालागाउँका ३५ वर्षीय अम्मर विष्टको घटना स्थलमै मृत्यु भएको छ ।
कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधार नजिकै कच्ची र उकालो सडकमा नचड्दा ब्याक भएर दुर्घटनामा परेको हो ।
जिप उकालोमा नचड्दा पछाडि टायरमा ढुंगा हाल्न निस्केका अम्मरको सोही जिपले नै किचेर मृत्यु भएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिएका छन् ।
यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, ४ वर्षीय रियाग विष्ट, ७ वर्षीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट घाइते भएका छन् । घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको र गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको बैतडी प्रहरी प्रमुख , प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
जिप दुर्घटनापछि चालक सुरेन्द्र विष्ट फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।