विराटनगर : कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा दण्डप्रणाम यात्रा गरेका छन् ।
पराजुलीले धर्म सहितको सनातन हिन्दू राष्ट्रको माग राख्दै सिंघिया घाटसम्म दण्डप्रणाम यात्रा गरेका हुन् । घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दू राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै १९ औं पटक दण्डप्रणाम यात्रा गरेको बताए । उनले मुलुकको शान्ति विकास र समृद्धिका लागि कामना गरेर दण्डप्रणाम यात्रा गरेको समेत बताए ।
विराटनगर महानगरपालिका–३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्डप्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए । दण्डप्रणाम यात्राका लागि शनिबारदेखि ब्रत बसेको उनको भनाइ छ ।