बर्दिवास, मंसिर १६ गते ।
धनुषाको लालगढमा सुविधा सम्पन्न गौतम होटल सञ्चालन आएको छ । आज शनिबार धनुषाको मिथिला नगरपालिका ९ स्थित लालगढमा सुविधा सम्पन्न गाैतम हाेटललाई एक समारोहबिच मधेश प्रदेशका मुख्यमन्त्री सराेज कुमार यादवले उद्घाटन गर्नुभएसँगै हाेटल सञ्चालन भएको हो ।
महोत्तरीको बर्दिवासमा ख्याति नाम कमाएको गाैतम होटल बर्दिवासले नयाँ थप सुविधा विस्तार गर्दै लालगढमा होटल सञ्चालनमा ल्याएको छ ।
चार तारे मापदण्डमा निर्मित लालगढ स्थित यो होटलले हेल्थक्लव, स्टिम बाथ, पौडी पोखरी (स्विमिङ् पुल), चित्ताकर्षक बगैंचा र विभिन्न देशका स्वादिष्ट परिकारको सेवा दिन थालेको छ । जम्मा ८० कोठाको सयनकक्ष सञ्चालनको लक्ष लिएको होटलले आजबाटै ४० कोठा सञ्चालनमा ल्याइएको होटल व्यवस्थापनले जनाएको छ । जम्मा एक बिघा दुई कठ्ठा क्षेत्रफलमा फैलिएको होटल परिसरमा अत्याधुनिक सुविधा सहितको सभाहल र आउटडोर/इनडोर दुईवटा व्याङ्केट छन् । दुई हजार ५०० जना सहभागी अटाउने आउटडोर ब्याङ्केट अहिले यसभेगकै ठूलो सभाहल मानिएको छ । तुलना गर्दा सानो भनिएको इनडोर ब्याङ्केटमा पनि एक हजार सहभागी अटाउने क्षमता छ ।
विवाह, ब्रतबन्ध सहितका माङ्गलिक समारोह, सभासम्मेलन, अधिवेशन जस्ता ठूलठूला समारोह सम्पन्न गर्न सकिने गरी सभाहलको व्यवस्था भएको छ । पूर्वाधारको अभावमा मधेश प्रदेशमा गरिन पर्ने कार्यक्रमहरु अन्यत्र ठूला सहरमा गरिनपर्ने अवस्था अब अन्त्य भएको होटल सञ्चालक युवा उद्यमी हीरालाल गौतमको भनाइ छ ।
होटल सञ्चालन भएपनि निर्माणसँग जोडिएका केही काम अझै हुँदैछन् । होटल सञ्चालनमा आएसँगै थप १०० भन्दा बढीले रोजगार सुविधा पाएका छन् । सबै निर्माण कार्य सकिदाँ झण्डै पच्पन्न करोड खर्च हुने होटल व्यवस्थापनको अड्कल छ । यो होटलले पर्यटन प्रबद्र्धन, उद्यम विकास र रोजगारी प्रबद्र्धनमा सहयोग पुग्ने मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको अपेक्षा छ ।