गाैशाला, मंसिर १९ गते ।
महोत्तरीको गौशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा सञ्चारकर्मीलाई निषेध गरिएको छ ।
मंगलवार नेकपा माओवादी केन्द्रले गौशालामा आयोजना गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाएको हो ।
कार्यक्रम हलमा प्रवेश गरिसकेका पत्रकारहरुलाई कार्यक्रम सञ्चालकको भूमिकामा रहेका माओवादी नेता विश्वनाथ साहले पत्रकारहरुलाई सम्बोधन गर्दै बाहिर निस्किहाल्न आग्रह गरेका थिए । ‘फोटो खिचिहाल्नु भयो । अब सबै पत्रकारहरु बाहिर जानुस्,’ कार्यक्रम सुरुहुनु अघि नेता साहले माइकमा बोल्दै भने ।
“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” मधेस प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई आन्तरिक कार्यक्रम भन्दै उद्वघाेषकले पत्रकारहरुलाई बाहिर निस्किन दिए निर्देशन । तर कार्यक्रम स्थल बाहिर लाउड स्पिकर लगाएर नेताहरूले भाषण गरेकाे देखिएको छ ।
यता प्रधानमन्त्री सहभागी कार्यक्रमको समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकारहरुले आपत्ति जनाएका छन् ।