सर्लाही, मंसिर २६ गते ।
प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तर उन्नतिको माग गर्दै नेपाली काङ्ग्रेस सर्लाहीको बरहथवा नगर कमिटीले आज (मंगलबार) बरहथवा बजारमा प्रदर्शन गरेको छ ।
बरहथवा नगरपालिकाको वडा नं.६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेस प्रदेश सरकारलाई हस्तान्तरण गरि ५० बेडको बनाउन पहल गर्न दबाब दिने उदेश्यले बरहथवा बजार क्षेत्र र नगरपालिकाको कार्यालय अगाडि नेपाली काङ्ग्रेसले र्याली निकालेर प्रदर्शन गरेको हो ।
नेपाली काङ्ग्रेसको तर्फबाट बरहथवा नगरपालिकाको नगर प्रमुखका प्रत्याशी विगुप्रसाद चौधरीले २०७९ साल असोज ९ गते भएको नगर कार्यपालिकाको निर्णय अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई तत्काल ५० बेडको अस्पताल बनाउने प्रक्रिया अधि बढाउन दबाब दिने उदेश्यले `प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशलाई हस्तान्तरण गर´, `नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर´ नारासहित प्रदर्शन गरिएको बताए ।