काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।
आन्दोलित युवाहरुले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । किस्ट अस्पतालमा लगिएका एक जना गम्भीर घाइतेको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् ।
अर्का एक जना गम्भीर घाइते छन् । अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताए । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।