सर्लाही, पुस १३ गते ।
सर्लाहीको बरहथवा नगरपालिकास्थित बागमती नदीमा अवैध रुपमा मेसिन प्रयोग गरेर नदी दोहन गरिरहेको अवस्थामा प्रहरीले चार वटा एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ ।
बागमती नदीको हजरिया घाटमा चुरे माफियाले अनाधिकृत रुपमा बिना इजाजत मेसिन प्रयोग गरेर दोहन गरिरहेको अवस्थामा इलाका प्रहरीले कार्यालय बरहथवाको टोलीले चार वटा एक्स्काभेटरलाइ नियन्त्रणमा लिएको हो ।
सर्लाहीको बरहथवा नगरपालिकाले बागमती नदी उत्खनन अगाडि करिब दुई वर्ष लगाएर मधेस प्रदेश कार्यालय जनकपुरबाट विज्ञ बोलाएर नदी उत्खनन गर्नभन्दा अगाडि नदीको (इआइए) प्रारम्भिक वातावरण प्रभाव मूल्याङ्कन गराएर यसपटक तिन वटा घाट उत्खनन गर्न ठेक्का लगाएको छ ।
वातावरण विज्ञको टोलीले माफियाहरूले अहिले उत्खनन गरिरहेका ठाउँ खरसाल घाट नजिक खोलाको सतह तल परेको र उत्खनन गर्ने अवस्था नभएको रिपोर्टमा देखाएपछि बरहथवा नगरपालिकाले नदी उत्खनन र ठेक्का प्रक्रियामा रोक लगाएको नगरपालिकाका कानुनी सल्लाहकार महेश बरालले बताए ।
बरहथवा नगरपालिकाले नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभेल निकासीको लागि हजरिया घाटबाट उत्खननको लागि सर्लाही लालबन्दीका रोहन इन्जिनियरिङ एन्ड बिल्डर्सलाई ८५ लाखमा ठेक्का लगाएको छ ।
खोला उत्खननको इजाजत नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई एक वटा मेसिन लगाउन अनुमति मात्रै दिए पनि स्थानीय प्रहरी प्रशासनलाई मोटो रकम दिएर अवैध रुपमा नदी दोहन गर्न थालेपछि स्थानीयले विरोध जनाएको थियो ।