
रोशन कुमार महतो
बर्दिवास, पुस १३ गते ।
औपचारिक स्थापना भएको ४ वर्षपछी महाेत्तरीकाे बर्दिवास नगर पत्रकार संजालले आफ्नै कार्यालय स्थापना गरेको छ । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले कार्यालयको उदघाटन गरेर आज औपचारिकता दिएका हुन् ।

अघिल्लो स्थानीय सरकारले कार्यालय स्थापनाकाे सहयोग गरेको सामाग्रीहरु राखेर संचालनमा आएको कार्यालयबाट नै अब पत्रकारहरुले आफ्ना नियमित काम गर्न सक्ने संस्थाका अध्यक्ष गोपाल बरालले जानकारी दिए ।
कार्यालयमा पत्रकारहरुको लागी आवश्यक कुर्सी, टेबल, इन्टरनेट तथा प्रिन्टर समेत राखिएको छ । बर्दिवास (१ स्थित एभरेष्ट पब्लिक विद्यालयसँगै रहेको उक्त कार्यालयलाई सुचना केन्द्रको रुपमा विकास गरिने पनि नगर पत्रकार संजालले जनाएको छ ।
नगर भित्र रहेर विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुले संचार सामाग्रीहरु अब संजालको कार्यालयबाट नै उत्पादन गर्न सक्ने संजालका सचिव बिशाल बस्नेतले बताए ।
आवाज बिहिनहरुको आवाजलाई बुलन्द गर्न नगर पत्रकार संजाल महत्वपुर्ण संजाल बन्न सक्ने बिस्वास व्यक्त गर्दै नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगर क्षेत्रमा रहेका पत्रकार र पत्रकारितालाई संस्थागत विकास गर्न सधै तत्पर रहेको बताए ।

सामाजिक उत्तरदायित्व सहितको निगरानीमा नगर पत्रकार संजाल महत्वपुर्ण पहरेदार बन्ने र निमुखाहरुको आवाज मुखरित गर्ने ससक्त माध्यम संजाल नै बन्नुपर्ने वडा अध्यक्ष भोला खड्काको भनाई छ ।
यता नगर पत्रकार संजालका संस्थापक सचिव राजकरण महतोले यो आर्थिक वर्षमा नै नगरपालिकाले संजालको आफ्नै भवन निर्माण गर्न सक्ने वातावरण वन्न सक्ने भूमिका खेलिदिन नगरप्रमुख समक्ष अनुरोध गरेका छन् ।