धनुषा, पुस १४ गते ।
नेपाली काँग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा बसेको बैठकबाट राष्ट्रिय सभाको सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची तय गरेर केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छन् ।
काँग्रेसको मधेश प्रदेश कार्यालय जनकपुरधाममा प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकबाट वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिक तथा बैठकमा सहभागी भएका सदस्यहरुले व्यक्त गरेको भावनालाई समेत ध्यानमा राखी प्राथमिकताक्रम निर्धारण गरेर नाम केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउने निर्णय भएका हुन् ।
निर्णय भए अनुसारको सम्भावित सूची केन्द्रीय कार्यालयमा पठाइसकेको काँग्रस प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्द प्रसाद ढुंगाना धनुषा, फरमुल्लाह मंसुर बारा, नागेन्द्र कुमार सर्लाही, राधेचन्द्र यादव बारा, रामचन्द्र तिवारी महोत्तरी, रजिन्द्र बहादुर अमात्य पर्सा र हृदयनारायण यादव सहित जिल्लाहरुबाट आएकाहरुको नामावली सिफारिस गरेर पठाइएको काँग्रेस प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।
मधेश प्रदेशको कार्यालयमा शनिवार बसेको बैठकमा गहन छलफल हुँदा जिल्लाहरुबाट सिफारिस भएर आएको नामावली र आफै मधेश कार्यालयमा उपस्थित भई दर्ता गराइएको नामावली माथि विचार गर्दै वरिष्ठता, समावेशिता लगायतका पार्टीमा दिएको योग्यदानको मूल्याँकन गर्दै उक्त सम्भावित नाम छनौट भएको उनले स्पष्ट पारे ।