सिरहा, पुस २० गते ।
सिरहाकाे मिर्चैया नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयहरूमा नगरप्रमुख श्रवणकुमार यादवले अनुगमन गरेका छन् । निजी विद्यालयहरूको बेथितिको विषय सञ्चारमाध्यममा आएपछि उनी अनुगमन गरेका हुन् ।
मिर्चैया नगरपालिका-६ कटारी चोकमा अवस्थित पूर्वाञ्चल सेन्ट्रल एकेडेमीको फितलो व्यवस्थापन र गुणस्तरहीन शैक्षिक अवस्थाबारे बुधबार सञ्चारमाध्यममा समाचार आएको थियो । समाचारमा यो विद्यालय उदाहरण भएको र यहाँका अधिकांश निजी विद्यालयहरूको अवस्था पनि यस्तै रहेको उल्लेख थियो ।
यो विषय बाहिर आएपछि यसमाथि चाँसो लिँदै मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले शिक्षा शाखाको टोली सँगै लगेर बिहीबार पूर्वाञ्चल सेन्ट्रल एकेडेमीमै गएर त्यहाँको अवस्था बुझे । अनुगमन आउन सक्ने अनुमानपछि विद्यालयले परीक्षाको बहाना बनाएर बिदा नै दिएको थियो ।
त्यहाँ पुगेका मेयर यादव विद्यालयको अवस्था देखेर आक्रोशित भए । यससँगै उनले हाम्रो पाठशाला, ह्वाइटहाउस अंग्रेजी आवासीय माध्यमिक विद्यालयलगायतमा पनि अनुगमन गरे । अनुगमनपछि उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विद्यालयहरूमा मापदण्डको पालना भएको नदेखिएको र यथाशीघ्र सच्चिन आग्रह गरेको बताए ।
मिर्चैयाको शैक्षिक अवस्था सुधारका निम्ति नगरपालिकाले यस्तो प्रयत्नलाई निरन्तर जारी राख्ने बताउँदै उनले अर्कोपटक अनुगमनमा जाँदा सुधार भएको नदेखिए कारवाही प्रक्रिया अघि बढ्ने चेतावनी दिए । अटेर गर्ने विद्यालयलाई निर्धक्क भएर खारेजीसम्मको कारवाही गर्न उनले शिक्षा शाखा प्रमुख भरत बानियाँलाई निर्देशन समेत दिएका छन् ।