प्रदीप दास
रौतहट, पुस २१ गते ।
रौतहटको गरुडा नगरपालिकाको मुख्य प्रवेशद्वारको अगाडिको गेटमै ताला लगाईएको छ । शुक्रबारका दिन उपप्रमुख पुनम चौधरीले नगरपालिकाको कार्यालयमा ताला लगाएकी छन् ।
कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ९ जना जनप्रतिनिधि धर्नामा बसेका छन् । उपप्रमुख चौधरीलगायत ६ वडाका अध्यक्ष सहित ३ जना कार्यपालिका सदस्य धर्नामा बसेका हुन् ।
– कार्यपालिकाको नियमित बैठक बसाउन।
– नगर सभाका निर्णयहरु कार्यपालिका सदस्यहरुमा सार्वजनिक गर ।
– गत आ.व. २०७९/०८० को र यस आ.व. को खर्चहरु कार्यपालिकाको बैठकमा पेस गर ।
– कार्यालयको काम नगर्ने आफ्ना भरौटे गोजिका करारका कर्मचारीहरु खारेज गर ।
– इन्धन खर्च व्यवस्थित गर ।
– हरेक वडामा समान रूपमा बजेट विनियोजन गर भनि ६ बुन्दे माग राख्दै पालिकाको गेटमै तालाबन्दी गरि धर्नामा बसेका छन् ।
यता गरुडा नगपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले निजी स्वार्थ पुरा नहुँदा उपमेयर र वडा अध्यक्षहरुले बिना कारण आन्दोलन गरी काममा बाधा अवरोध सृजना गर्न खोजेको आरोप लगाएका छन । उपमेयर चौधरी र धर्ना बसेका वडा अध्यक्षहरुले आ-आफ्ना वडामा एक-एक करोड बजेट दिन माग गरेको र आफुले त्यति बजेट दिन नसकिने बताएपछी उनीहरु पालिकामा तालाबन्दी गरी जनतालाई दुख दिने काम गरेको मेयर जयसवालले बताए ।
बजेट अभावका कारण त्यति ठूलो रकम दिन नसकिने जवाफ दिँदा उनिहरुले आन्दोलनको नाटकमंचन गरेको उनले बताए । वार्ताको माध्यमले आन्दोलन्कारीहरुको माग सम्बोधन गर्न आफू तयार हुदाँहुदै आफुलाई असफल साबित गर्न उनिहरुले बलजबर्जस्ती प्रहरी प्रशासनको सहयोगमा नगरपालिकामा ताल्चा लगाएर पुरै पालिकालाई नै अस्तव्यस्त बनाएको मेयर जयसवालको भनाइ छ ।
उपमेयर चौधरी सहित वडा नम्बर २ का वडा अध्यक्ष कृष्णन्दन सहनी, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बीका सहनी, वडा नम्बर ६ का वडा अध्यक्ष रामबाबु चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष प्रविण सिंह यादव, वडा नम्बर ८ का वडा अध्यक्ष बशिष्ट यादव र वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनी सहित नगरपालिकाका बहुमत कार्यपालिका सदस्यहरुले एक भइ नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल विरुद्ध आन्दोलनमा उत्रेका छन ।