
सर्लाही, पुस २१ गते ।
सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गोली लागि एक युवकको मृत्यु भएपछि त्यसको चौतर्फी विरोध भएको छ । यसै क्रममा घटनाको विरोधमा नेपाली काँग्रेस निकट युवाहरुले हरिवनमा चक्काजामसहित मसाल जुलुस प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस सर्लाहीका सचिव निरज कार्की, तरुल दलका केन्द्रीय सदस्य विभुसिंह थापा, काँग्रेस नेतृ एवम् प्रदेश समिति सदस्य सोनी कुमारी बोम्जन, नेविसंघका केन्द्रीय सदस्य सुदिप शिवाकोटी, नेता अम्बर थोकर लगायतका युवा नेताहरुको नेतृत्वमा साँझ ५ देखि आधा घण्टाबढी पूर्वपश्चिम राजमार्गमा चक्का जाम गर्दै मसाल जुलुस प्रदर्शन गरिएको हो ।

मसाल जुलुस पछि भएको कोणसभालाई सम्बोधन गर्दै जिल्ला सचिव निरज कार्की लगायतका नेताहरुले बरहथवा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्नु पर्ने बताएका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानविन नगरे आफूहरु कडा खालको आन्दोलन गर्न बाध्य हुने युवा नेताहरुले चेतावनी दिएका छन् ।



बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागि स्थानीय जयशंकर साहको मृत्यु भएको थियो ।