धनवीर महतो
बर्दिवास, पुस २३ गते ।
महोत्तरीको वर्दिवासमा ५३ जना सुकुम्बासीलाई जग्गाधनीको प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । सोमबार वर्दिवास नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि वडा नं. २ का ५३ घरपरिवारलाई जनही १ कट्ठाका दरले लालपुर्जा वितरण गरिएको हो ।
राष्ट्यि भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रमकाबीच वक्ताहरुले सुकुम्बासीबाट हुकुम्बासी बनाईदिएकोमा वर्दिवासवासीलाई धन्यवाद दिदै अगामी दिनमा आवश्यक सहयोग गरिदिनका लागि अनुरोध गरेका थिए । भुमि व्यवस्थापन कार्यालयसँग समन्वयन गरि नगरमा रहेका अवस्थित वसोवासलाई व्यवस्थित बनाउने गरि सो जग्गा वितरण गरिएको वर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारीले जानकारी दिए । वर्दिवास जिल्लामै पहिलोपटक यस कार्यमा सफलता पाईएकोले अगामी दिनमा नगरभरिका यस्ता सुकुम्वासीलाई जग्गा प्रदान गरिने तयारी भईरहेको तिवारीले बताए ।
घर व्यवस्थापनका निम्ति विशेष रुपमा तीनैतहका सरकारलाई पहलकदमी भुमिका निर्वाह गरिदिनका लागि प्रतिनिधीसभाका सदस्य लक्ष्मी महतो कोईरीले आग्रह गरेका छन् ।
अव ठोस रुपमा व्यवस्थापनका लागि सरोकारवाला पक्षले संरक्षणका निम्ति समय समयमा अनुगमन गर्नुपर्नेमा साँसद कोईरीले जोड दिएका छन् ।
कार्यक्रमलाई समापन गर्दै वर्दिवासका मेयर प्रल्हादकुमार क्षेत्रीले लालपुर्जा पाएकालाई व्यवस्थितरुपमा स्थापित गर्नका लागि नगरले विशेष भुमिका निर्वाह गरिने धारणा राखेका छन् । उपलब्ध गराएको जग्गामा आवश्यकमात्रामा विजुलीवती र खानेपानीको पूर्वाधार निर्माणका लागि नगरले अग्रिम भुमिका निर्वाह गरिने मेयर क्षेत्रीले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश साँसद एवम् पूर्वगृह तथा संचारमन्त्री भरतप्रसाद साह, प्रदेश साँसद शारदादेवी थापा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उपमेयर तारादेवी महतो लगायतले मन्तव्य राखेका थिए ।
लालपुर्जा पाएर जग्गाको मालिक भएको भन्दै हर्षित भएका थिए ।