
काठमाडौँ, पुस २६ गते ।
प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ ।

गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्ष समेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए । पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए ।

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।

सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एक पटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ ।

यसै आधारमा आज राजधानीको गोकर्णेश्वर उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो ।
