राजेश सिंह
महाेत्तरी, माघ ७ गते ।
अन्नपूर्ण कर्मी राजकरण महताेमाथि काठमाडौंमा अभद्र व्यवहार गर्दै कुटपिटको प्रयास भएको छ । काठमाडौंकाे तीनकुने स्थित अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा सिनियर रिपोर्टरको रुपमा कार्यरत रहेका राजकरण महताेमाथि काठमाडौंमा अभद्र व्यवहार गर्दै कुटपिटको प्रयास भएको हाे ।
आज करिब १२ बजेको समयमा कोठाबाट पैदल अफिस जाने क्रममा काठमाडौंको तीनकुने स्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नाम गाडीका कन्टेक्टर र चालकले मलाई ‘भैंया’ भनेर अभद्र व्यवहार र आमाचकारी गालीगलोज गरी सामाजिक प्रतिष्ठामाथि ठेस पुर्याएका अन्नपूर्ण कर्मीले महताेले जनाउनु भयो । बिनाकारण मेरो अपमान गर्दै कुटपिटसमेत गर्न खोजेकाले मेरो ज्यानको सुरक्षा खतरामा परेको छ । यसले स्वतन्त्र भई काम गर्दै आएको म जस्तो स्वाभिमानी पत्रकारको आत्म सम्मानमा चोट पुगेको भन्दै महताेले कार्वाहीकाे माग गर्दै प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा उजुरी दिएका छन् ।
मसँग भएको यो पहिलो र एउटा मात्रै घटना होइन । मेरो जातीय पहिचान, मधेसी समुदायमाथि गरिने यस्ता सार्वजनिक बेइज्जती मलगायत तमाम व्यक्तिले भोग्दै आएका छन् । काठमाडौं बसाइको अढाई वर्षको अन्तरालमा समाचार संकलनका लागि फिल्डमा खटिँदा आधा दर्जनभन्दा बढी पटक सडक, बजार, चोकमा मैले र मसँग रहेका आफन्तजनहरूले लगाएको पोसाक, अनुहार, र बोलेको बोलीका आधारमा ‘भैया’, ‘बिहारी’, ‘मर्सिया’ भनेर दोस्रो दर्जाको नागरिकको रूपमा लिई अपमान गर्दै आएको तीतो यथार्थ ताजै रहेको उक्त उजुरीमा उल्लेख गरिएको छ ।
सार्वजनिक स्थलमा मलगायत म जस्तै अरुहरूमाथि दिनहुँ हुने यस्ता दुव्र्यहारका घटनाले दैनिक जीवन दुःखमय बन्दै गएको महसुस गरेको छु । त्यसैले दोषीलाई अविलम्ब पक्राउ गरेर कानुनी दायरमा ल्याई न्याय दिलाउनका लागि अनुरोध गर्दछु । यसका साथै सार्वजनिक अभद्र व्यवहार तथा गाली बेइज्जती कसुरमा दोषीहरूलाई पक्राउ गरी घटनाको अनुसन्धान गर्न तथा उचित क्षतिपूर्ति दिलाउनका लागि यो निवेदन पेस गरेको समेत उजुरीमा उल्लेख छ ।