सर्लाही, माघ १२ गते ।
सर्लाहीको बरहथवा नगरपालिका-५ मा गोली लागेर युवकको ज्यान गएको घटनामा वरिष्ठ हवल्दार सोनेलाल यादवलाई प्रहरी प्रधान कार्यालय नक्सालले बर्खास्त गर्न लागेको हो ।
गत पुस २० गते अस्पतालको विषयलाई लिएर भएको झडपमा बरहथवा नगरपालिका-६ का जयशंकर साहको मृत्यु भएको थियो। उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको थियो ।

छानबिन समितिले अनावश्यक रुपमा बल प्रयोग गरी गोली चलाएको निष्कर्ष निकाल्दै वरिष्ठ हवल्दार यादवलाई बर्खास्त गर्न सुझाव पनि दिएको छ। यादव यसअघि नै निलम्बनमा परिसकेका छन्। छानबिन समितिले घटना भएको ठाउँमा गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि यादवले गोली चलाएको निष्कर्ष पनि निकालेको छ ।
हवल्दार यादवले भने आफ्नो हतियार खोस्न लागेपछि गोली चलाउनुपरेको दाबी यसअघि नै गरेका छन् । यादवलाई कारबाही गरेको व्यहोराको पत्र प्रहरी प्रधान कार्यालय नक्सालले केही दिनमै जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पठाउनेछ ।

