पवन प्रसाद साह
बिरगंज, माघ १६ गते ।
नेपाली कांग्रेस केन्द्रिय समिती द्वारा आयोजना गरिएको “समुदायमा नेपाली काङ्ग्रेस” अभियान अन्तर्गत बारा जिल्लाको केन्द्रिय प्रतिनिधिको रुपमा आएका केन्द्रिय सदस्य अनिल रुङ्टाले कार्यक्रम को शुभारम्भ गरेका छन ।

अभियान को शुभारम्भ बारा कलैया उपमहानगरपालिका वडा न.९ मा उद्घाटन स्वरूप बृक्षारोपण गरि उक्त अभियान को प्रारम्भ गर्नु भएको थियो । बारा जिल्लामा ‘समुदायमा जाऔँ, जनताका कुरा सुनौँ’ नारासहित २६ माघसम्म अभियान सञ्चालन हुनेछ । अभियानमा समुदाय तहमा जनस्तरका समस्याबारे जानकारी लिएर समाधान गर्नेदेखि नेपाली कांग्रेसको नीतिअनुसार सुझाव संकलन गरिने प्रतिनिधि अनिल रुङ्टाले बताए ।
अभियानका क्रममा स्थानीयस्तरमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका असल अभ्यासबारे समेत जानकारी लिइने छ । नेपाली कांग्रेसले अभियानलाई आसन ग्रहण र मन्तव्यरहित बनाइने बताइएको छ। ‘अभियान वडाकेन्द्रित रहनेछ । सहिद दिवसको दिनबाट अभियानको पहिलो चरण सुरु भएको छ भने २६ माघमा सुशील कोइरालाको स्मृति दिवसको दिन पारेर समापन गरिनेछ । औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रम हुने छैनन् । जनस्तरका गुनासा र सुझाव संकलनमा केन्द्रित हुनेछ ।

आजबाट बारा जिल्लामा शुभारम्भ भएको सो अभियानमा नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव, वरिष्ठ नेता श्याम पोखरेल, बाराका नेता लोकेश सिंह, पर्सा क्षेत्र नं १ का सभापति अनिल सिंह, युवा नेता दिलिप राज कार्की लगायत प्रदेश प्रतिनिधिको उपस्थितिमा रहेको थियो ।

