मुकेश झा
सर्लाही, फाल्गुन ७ गते ।
सर्लाहीको हरिपुर्वा नगरपालिकाको ११ औं नगरसभा सोमबार कडा सुरक्षा र विवादबिच सम्पन्न भएको छ । असारमा हुनुपर्ने नगरसभा नहुँदा कर्मचारी र शिक्षकले सातमहिना यता तलबभत्ता पाएका थिएनन् ।

नगरप्रमुख विनोदकुमार साहले बहुमत सदस्यको सहभागीतमा नगरसभा सम्पन्न भएको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरसभा हुन नसकेको हो । सोही नगरमा घर भएका खानेपानी मन्त्री महेन्द्र राय यादव र नगरप्रमुख साहबीचको विवादले कुनै प्रमुख प्रशासकीय अधिकृत त्यहाँ टिक्न सकेका थिएनन् ।

यसपटक पनि सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवलाई रमाना नदिइ उनैबाट नगरसभा गराइएको हो । नगरसभा विथोल्न चार जना वडाध्यक्ष र उपमेयरले अवरोध गरेका थिए । नगरसभा गर्ने र हुन नदिने समूहबीच झडपको अवस्थासमेत आएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा नगरसभा सम्पन्न गरिएको थियो ।

नगरसभा नहुँदा तलब नपाएका कर्मचारी र शिक्षकले एक सताअघिदेखि नगरपालिका कार्यालयमा धर्ना दिइरहेका थिए । नगरसभा गरेर विकासे योजना, कर्मचारीको तलबभत्ता र सामाजिक सुरक्षा भत्ता दिनुपर्ने दवाबमा नगरपालिका थियो ।

नगरसभा चलिराख्दा चार जना वडाध्यक्षले कुर्सी फ्यालेर विरोध जनाएका थिए । त्यसपछि उनीहरुका समर्थकले बाहिर नाराबाजी गरेका थिए ।




