काठमाडौं, फाल्गुन ९ गते ।
दाङ, अछाम, बारा र सिन्धुपाल्चोकमा भएको छुट्टा छुट्टै दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् ।
दाङको घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सर्रा चोकमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको छ ।

मोटरसाइकलले साइकल यात्रुलाई जोगाउन खोज्दा सडकमा लडेको र उनीहरूलाई घोराहीबाट तुलसीपुर जाँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले ठक्कर दिएको प्रहरीले जनाएको छ । बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका–२ का २९ वर्षीय निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता अछामको चौरपाटी गाउँपालिका–५ लुग्रामा जिप दुर्घटना हुँदा डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बाराको जितपुर-सिमरा १ आधाबार जङ्गलखण्डमा ट्रक र बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोट बिदुर नगरपालिका ९ कोलनीका ३० वर्षीय सुजन मगराती र भारत मोतिहारीका २८ वर्षीय चन्दन चौहानको मृत्यु भएको छ ।
यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे वडा नम्बर ७ अँधेरी खोलामा जीप दुर्घटना हुँदा बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको छ । ४ जना घाइते छन् ।





