गाैशाला, फाल्गुन १६ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिकाकाे आयोजनामा नगरपालिकाकाे दीर्घकालीन कृषि विकास रणनीति र कार्ययोजना तर्जुमा विषयक परामर्शदायी बहुसराेकारवालाहरुसँग एकदिने गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार नगरपालिकाकाे सभाहलमा ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि) काे आर्थिक तथा प्राविधिक सहयोगमा नगरपालिकाकाे दीर्घकालीन कृषि विकास रणनीति र कार्ययोजना तर्जुमा विषयक परामर्शदायी बहुसराेकारवालाहरुसँग एकदिने गाेष्ठी कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा गौशाला नगरपलिकाका नगर प्रवक्ता रामपृत महतोले स्वागत मन्तव्य राख्दै कार्यक्रमलाई अगाडी बढाएका थिए । उनले स्वागत मन्तव्यको क्रममा पाँच वर्षीय योजना कसरि अगाडी बढाउने भन्ने कुराको उठान गरेका थिए । कृषि क्षेत्रमा राम्रो काम गर्ने किसानहरुको लागि सेवा सुविधाहरुमा एक जुट भएर लाग्नु पर्नेमा उहाँले जाेड दिए ।
कार्यक्रममा परामर्श दाता महेन्द्र पौडेलले आफ्नो प्रस्तुतीकरण दिएका थिए । जसमा उनले भने, “कृषिमा राम्रो लगानी लगाउनुपर्छ । सरकारले कम्तिमा बजेटको १०% ले लगानी लगाउनुपर्ने थियो तर हाम्रो देशमा जम्मा २.५% मात्र कृषिमा लगानी लगाईएकोले कृषिमा समृद्धि नभएको हो । हामी सँग अथाह ज्ञान र स्रोत छ । त्यसलाई सदुपयोग कसरि गर्ने, योजना कसरि बनाउने, तर्जुमा कसरि गर्ने लगायतका सन्दर्भमा क्रियाकलापको अवश्यकता छ ।”
कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका सांसद भरत प्रसाद साहले गौशाला नगरपालिकामा मुख्य उत्पादन हुने कृषि नै रहेको बताउदै गौशाला बजार तरकारी बजारको हब बन्दै गएको बताए । गौशाला नगरपालिकामा कृषिमा अझै विकास गर्न सिँचाई आवश्यकता रहेको उनले जिकिर गरे । गौशाला नगरपालिका भित्र इन्धनबाट चल्ने बोर्डिंगलाई विद्युतीयकरण उचित हुने उनले बताए ।
किसानलाई उच्च जातका बिउबिजन उपलब्ध गराउनु पर्ने र तरकारी खेतीमा विषादीको प्रयोग कम मात्रामा गर्नुपर्ने कुरामा उनले जोड दिए । विषादीको प्रयोगले विभिन्न रोगहरु निम्तिने हुनाले त्यसलाई कम गर्न अर्ग्यानिक खेतीमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै संघीय सरकारका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले जनसमुदायले कृषि शिक्षा आफ्नो खेतबाट नै प्राप्त गर्ने भएकोले समृद्धिको लागी सबभन्दा कृषि सडक निर्माणमा जोड दिनुपर्ने बताए । उनले गौशाला नगरपालिका स्थित रहेको गाई गौशालालाई व्यवस्थित गरेमा कम्पोस्ट मल उत्पादन गर्न ठुलो सम्भावना बढ्ने बताए । साथै उनले सबै वडा अध्यक्षहरुलाई आफ्नो वडामा सबभन्दा बढी कृषिमा लगानी गर्न अनुरोध समेत गरे ।
कर्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो, प्रमुख अतिथि संघीय सांसद लक्ष्मी महतो, विशेष अतिथि मधेश प्रदेश सांसद भरत प्रसाद साह, १२ वटै वडाका वडा अध्यक्ष, पार्टी प्रतिनिधिहरु, कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख मनिष कुमार पाल लगायत कृषि सम्बन्धि विभागीय प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

