माेरङ, फाल्गुन १८ गते ।
पूर्व -पश्चिम लोकमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका १ र ३ को सिमानामा शुक्रबार बिहान टिपर, बस र बोलेरो जीप ठोक्किएर भयानक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो। बसलाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो ।
तीव्र गतिमा रहेको बसका कारण बिहान ६.३० बजेतिर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यात्रु उठाउने होडबाजीसँगै चालकले बस तीव्र गतिमा कुदाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ। जसका कारण भयानक दुर्घटना भएर ठूलो क्षति हुन पुग्यो। ।
‘तीव्र गतिमा बोलेरोलाई ‘ओभरटेक’ गर्दै अर्को लेनमा पुगेको बसलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दियो। त्यसपछि अनियन्त्रित बनेको टिपरले बसको पछि रहेको बोलेरोलाई ठक्कर दिएको हो,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की भन्छन्, ‘तीव्र गतिको बसले बोलेरोलाई उछिन्नसाथ भयानक दुर्घटना हुन पुग्यो । दुर्घटनामा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।’
उनका अनुसार दुर्घटनामा परेर झापाको कमल गाउँपालिका-२ का ५१ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका(४ की ५० वर्षीया गीता भनिने दीपा खनाल र झापाको बिर्तामोड नगरपालिका-२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको हो । यदुकान्त र दीपाको विराटनगरको कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको जानकारी कार्कीले दिए ।
उनका अनुसार उपचारका लागि कोशीमा पुर्याउनासाथ यदुकान्त र दीपालाई चिकित्सकले मृत घोषित गरेका थिए । कृष्णको उपचारका क्रममा बिहान ८:५५ बजे न्युरोमा मृत्यु भएको हो। दुर्घटनामा परेर कमल गाउँपालिका(४ का ५३ वर्षीय हरि खनाल र कमल(२ की ४९ वर्षीया गायत्री भट्टराई घाइते भए। उनीहरुको न्युरोमा उपचार भइरहेको छ ।
उपचाररतमध्ये हरिको अवस्था गम्भीर र गायत्रीको अवस्था सामान्य रहेको एसपी कार्कीले बताए। उनका अनुसार बोलेरो जीपमा चालकसहित ५ जना सवार थिए। दुर्घटनापछि पाँचै जना घाइतेलाई घटनास्थलबाट उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरतर्फ पठाएको थियो ।
प्रहरीका अनुसार घाइते हरि मृतक दीपाका पति (श्रीमान) हुन् भने घाइते गायत्री मृतक यदुकान्तकी पत्नी (श्रीमती) हुन्। मृतकमध्ये कृष्ण बोलेरो चालक रहेको जानकारी प्रहरीले दिएको छ। यदुकान्त र हरि ज्वाईं (जेठान हुन्। हरि श्रीमती दीपासहित बहिनी गायत्री र ज्वाईं यदुकान्तलाई लिएर पाँचथरको आरुबोटोस्थित छोरीको घरमा सम्दी ढोगाभेटका लागि जाने क्रममा बीचैमा दुर्घटना भएको यदुकान्तका भाइ यामप्रसाद भट्टराईले बताए।
उनका अनुसार झापाबाट पूर्व(पश्चिम र कोशी लोकमार्ग हुँदै तमोर करिडोरको बाटो भएर पाँचथरतर्फ जाने योजनाअनुरुप घरबाट निस्किएका उनीहरू पूर्व(पश्चिम लोकमार्गअन्तर्गत बेलबारीमा अइपुग्नसाथ दुर्घटनामा परेका हुन्। हरि र दीपाकी जेठी छोरीको १ वर्षअघि पाँचथरको आरुबोटेमा बिहे भएको यामप्रसाद बताउँछन्। खनाल दम्पतीका २ छोरी छन्। सामान्य खेती किसानी गर्ने मध्यम आर्थिक अवस्था भएका भट्टराई दम्पतीका ३ छोरी छन्। सबै जना छोरीको बिहे भइसकेको यामप्रसादले बताए।
अकल्पनीय दुर्घटनामा आफन्त गुमाएको खबर पाउनेहरु भावविह्वल भएका छन्। आफन्तको मृत्यु भएको सुनेर कोशी अस्पताल पुगेकाहरु सम्हालिन सकिरहेका छैनन्। डाँको छाडेर रोइरहेको अवस्थामा भेटिए। आफन्त र परिवारका सदस्यको आँखाबाट आँसु थामिन सकिरहेको थिएन। परिवारका सदस्य र आफन्त मात्रै हैन, गाउँ नै शोकमा डुबेको यामप्रसाद बताउँछन्।
‘दुर्घटनामा परिवारका सदस्य र आफन्त गुमाउँदाको पीडाले केहीपनि सोच्न सकिरहेको छैन। यहाँभन्दा ठूलो बज्रापात अरु के हुन्छ र रु,’ आँखाभरि आँसु पार्दै यामप्रसाद भन्छन्, ‘दुर्घटनामा परेर दाजुको दुःखद् निधन भयो । भाउजू अस्पतालको शय्यामा छटपटाइरहनु भएको छ ।’
उनी दाजुसँगै आफन्त गुमाउँदाको अकल्पनीय घटनालाई व्यक्त गर्ने आफूसँग कुनै शब्द नभएको बताउँछन् । दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ। टिपरको अगाडिको भागमा पनि क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । टिपर चालकसहित बसमा सवार सबै जना सकुशल छन् । दुर्घटनामा परेका सवारीसाधनलाई प्रहरीले जेसीबीको प्रयोग गरेर सडकबाट हटाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले टिपर तथा चालक मोरङको सुन्दरहरैँचा नगरपालिका (७ का २३ वर्षीय चन्द्रबहादुर विक र बस तथा चालक सुन्दरहरैँचा (१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
सार्वजनिक सवारीसाधनका यात्रुको सुरक्षा चालकको हातमा हुन्छ । तर, तिनै चालकको लापरबाही र बेवास्ताले दुर्घटना बढिरहेका छन् । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेल अधिकांश दुर्घटना चालकको लापरबाहीले हुने गरेको बताउँछन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख पौडेलले सडकमा सवारीसाधन हाँक्दा चालकले धेरै कुरामा सावधानी अपनाउनुपर्ने बताए ।