
मनोज कुमार शाह
जीतपुर, फाल्गुन २४ गते ।
बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको वडा- ९ छातापिपरामा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भूमाफियाहरुले वर्षौंदेखि कब्जा गरी भोगचलन गर्दै आएको रहस्य उजागर भएको छ । विद्यालयको नाममा रहेको विभिन्न ठाउँको जग्गा भूमाफियाहरुले कब्जा गरेको कुरा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापक पीताम्बर प्रसाद चौधरीले स्पर्श खबरलाई जानकारी दिएका छन् ।
विद्यालयका प्र.अ. पीताम्बर प्रसाद चौधरीले विभिन्न व्यक्तिहरुको कब्जामा परेको विद्यालयको जग्गा फिर्ता ल्याउन अनेकौं प्रयास गरे पनि उनीहरुले जग्गा फिर्ता नगर्दा बाध्य भएर ती व्यक्तिहरुलाई भूमाफियाको संज्ञा दिँदै प्रमाणसहित आफू मिडियामा आएको कुरा स्पर्श खबरलाई बताएका छन् ।
प्र.अ. पीताम्बर प्रसाद चौधरीको अनुसार श्री ने. रा. मा. वि. को नाममा रहेको साबिक गा.वि.स. छातापिप्राको वडा नं. ४ मा रहेको गढीमाई मन्दिरको छेउदेखि वैदेही पेट्रोल पम्पसम्मको कित्ता नं. १ को ५ कट्ठा १० धुर ऐलानी जग्गा विभिन्न व्यक्तिहरुले कब्जा गरी भोगचलन गरिरहेका छन् ।
यसैगरी विद्यालयकै नाममा रहेको साबिक गा.वि.स. छातापिप्राको वडा नं. ३ को कित्ता नं. ५९ को १९ कट्ठा जग्गा नारायणी स्पात उद्योगले कब्जा गरी भोगचलन गरिरहेको छ । विभिन्न भूमाफियाहरुले कब्जा गरेको विद्यालयको जग्गाहरु विद्यालयकै अधिनमा ल्याउन सके विद्यालयको भविष्य उज्ज्वल हुने र विद्यालयको आर्थिक तथा भौतिक विकासमा टेवा पुग्ने भएकाले सो जग्गाहरु पुनः विद्यालयकै नाममा ल्याउन प्र.अ. पीताम्बर प्रसाद चौधरीले मिडियामार्फत् पहल गरेका छन् ।
यसबारे वडा नं. ९ का वडाध्यक्ष मोतीलाल यादवसँग बुझ्दा विद्यालयको नाममा जग्गा फिर्ता आउनु सबैको लागि खुसीको कुरा रहेकोले सो जग्गा विद्यालयकै अधिनमा ल्याउन आफूले पनि पहल गर्ने आश्वासन दिनुभयो ।