काठमाडौं, फाल्गुन ३० गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेका विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।
बैठकमा दुई सय ६८ सांसद उपस्थित थिए भने सात जना सांसद अनुपस्थित थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ ।
प्रधानमन्त्रीलाई सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका थिए ।