
गाैशाला, चैत ३ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जीवन दर्शनको रुपमा अनुसरण गरेर जनतालाई परिवर्तनको अनुभूति हुने गरि काम गर्न जरुरी रहेको बताएका छन् ।
शनिबार महाेत्तरी आएका सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेलले शहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा महिटानी नगरपालिकाको वडा नंं ८ मा निर्माण भएको शहिद केशव कोइरालाको शालीक अनावरण कार्यक्रमलाई पौडेलले लोकतन्त्र अनुसारको संस्कार र संस्कृतिको विकास हुन अझै बाँकी रहेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताका लागि सुन्दर उपहार भए पनि प्रदेशहरूलाई अझै अधिकार सम्पन्न बनाएर जनताको घरदैलोमा नै सेवा तथा सुविधा प्रवाह गर्न ढिलाइ गर्न नहुने विषयमा दलका शीर्ष नेताहरूलाई आफूले पटक पटक ध्यानाकर्षण गर्दै आएको बताए ।
उनले राजनीतिक उपलब्धिको रुपमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूत गराउन अझै धेरै विषयहरू गर्न बाँकी रहेकाले गणतन्त्रलाई बलियो बनाउनका लागि गणतन्त्रलाई बलियो बनाउने कानूनको निर्माणमा ढिलाइ गर्न नहुने बताए ।
उनले शहिद स्व.केशव कोइराला जस्ता लोकतान्त्रिक योद्धाको प्रतिमाको निर्माण मटिहानी नगरपालिकामा गराएर मटिहानीको प्राचीनता तथा पौराणिकतालाई थप उजागर गर्ने काम भएको बताए।राष्ट्रपति पौडेलले जनताको ठूलो सङ्घर्ष तथा बलिदानबाट बनेको संविधानपछि स्वायत्तताको अवधारणा गाउँ तथा प्रदेशमा गएपनि धेरै अधिकारका विषयहरू स्थापित गर्नका लागि अझै बाँकी रहेको बताए ।
उनले देशको आर्थिक, सामाजिक रूपान्तरण गरेर निमुखा जनताको जीवन स्तर अझै माथि उकास्न आवश्यक भएको उल्लेख गर्दै यसका लागि व्यवस्था परिवर्तन भए जस्तै जनताको अवस्था परिवर्तनको अनुभूतिका लागि तल्लो तहमा अधिकार प्रत्यायोजित गर्न आवश्यक भएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मुलुकमा राजनीतिक स्थिरताका लागि संविधान संशोधनको विषयमा अहिले सबै दलका शीर्ष नेताहरूले महशुस गर्न थालेकाले संविधान संशोधन शीघ्र हुनुपर्ने धारणा राखे ।



















































