काठमाडौं, चैत २१ गते ।
ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ ।
सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउन चेतावनी दिइएको खबरमा उल्लेख छ । यस्तै जापानपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ ।
ताइवानमा भूकम्प गएपछि फिलिपिन्समा तटीय क्षेत्र खाली गर्न निर्देशन दिईएको हो । ताइवानको भूकम्पले अहिलेसम्म ४ जनाको ज्यान गएको र ५० बढी घाइते भएको खबर आएको छ । भुकम्पले गराएको अन्य क्षतिबारे भने बिस्तृत खबर आउन बाँकी छ ।

