
गाैशाला, चैत २० गते ।
माध्यमिक शिक्षा परीक्षा १ (एसईई) मा अनियमितता गर्ने ३० जना परीक्षार्थी, ४ निरीक्षक र एकजना परीक्षा सहायकमाथि परीक्षा अनुगमन टोलीले कार्वाही गरेको छ । अनुगमन टोलीले परीक्षा केन्द्रहरुवाट ९३ थान मोवाईल सेटसमेत नियंत्रणमा लिएको छ । यो वर्ष महोत्तरीका ३२ परीक्षा केन्द्रबाट नौ हजार ४३१ जना एसईई परीक्षामा सहभागी छन् ।

परीक्षालाई स्वच्छ र मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी र शिक्षा विकाश तथा समन्वय इकाई प्रमुखको नेतृत्वमा रहेको छुट्टाछुट्टै टोलीले हरेक केन्द्र र परीक्षा कोठामै पुगेर अनुगमन गर्दै आएको छ ।
यसको अलावा इलाका प्रशासन र स्थानीय सुरक्षा प्रमुखहरूले पनि आफना क्षेत्रका केन्द्रहरुमा अनुगमनलाई निरंतरता दिएका छन् । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल नेतृत्वको अनुगमन टोलीले मटिहानी, पिपरा र रतौली केन्द्रबाट विज्ञान विषयको चीट र गाइडसहित फेला परेका २८ जना परीक्षार्थीको उत्तरपुस्तिका नियंत्रणमा लिई कारवाही गरिएको छ ।
तथापि उनीहरूको परीक्षा भने रद्द नगरिएको प्रजिअ गेलाले बताउनु भयो । “अमर्यादित कार्य गरेको पाइएपछि उत्तरपुस्तिका मात्र नियंत्रणमा लिई विज्ञान विषयको परीक्षाबाट वञ्चित गरिएको हो’ गेलाले भन्नु भयो । प्रजिअ गेलालकै अनुगमन टोलीले पिपरा केन्द्रबाट एक जना परीक्षा सहायकमाथि पनि कार्वाही गरि बाँकी परीक्षामा बस्न नपाउने गरि निष्कासन गरेको छ ।
त्यस्तै सहायक प्रजिअ उपेन्द्र न्यौपाने को अनुगमन टोलीले मोवाईलसहित फेला परेका २ जना विद्यार्थीको परीक्षा रद्द गरेको छ । अनुगमनका क्रममा राम मा.वि. मटिहानी र खखना केन्द्रका २ जना परीक्षार्थीले मोबाईलबाट प्रश्नपत्र आउट गरेकाले दुवैजनामाथि कारवाही गरिएको न्यौपानेले जनाउनु भयो । परीक्षामा मोवाईल बोकन र प्रयोग गर्न निषेध गरिए पनि त्यसको उल्लंघन गर्दै दुवै परीक्षार्थीले मोवाईल बोकेको र जाँच गर्दा प्रश्नपत्रको फोटो खिची हवाट्स एपबाट आउट गरेको फेला परेपछि कार्वाही गरिएको उहाँले बताउनु भयो ।
त्यस्तै न्यौपानेकै अनुगमन टोलीले सुकदेव मावि सुगा केन्द्र, जलेश्वर स्थित कन्या मावि केन्द्र, खयरमारा र खखना केन्द्रबाट परीक्षामा मर्यादा पालन नगराएको पाईएपछि ४ जना निरीक्षकलाई निष्कासन गरेको छ । यो पटकको एसईईमा मोबाईलको दुरुपयोग अप्रत्यासित रूपमा बढेको अनुगमन टोलीले जनाएको छ ।
परीक्षामा केन्द्रध्यक्ष बाहेक अरूलाई मोबाईल बोकन र प्रयोग गर्न निषेध गरिएको छ । तर नियमको उल्लंघन गर्दै परीक्ष कोठामा लगेका ९३ थान मोवाईल बरामद भएको शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख प्रतिभा साहले बताउनु भयो । अनुगमनका क्रममा शंकास्प परीक्षार्थीको तलासी लिदा ती मोबाईल बरामद भएका हुन् ।
मंलवार सम्पन्न विज्ञान विषयको परीक्षाको अनुगमनका क्रममा प्रजिअ गेलाल नेतृत्वको टोलीले मटिहानी, पिपरा र रतौली केन्द्रबाट २२ थान र इकाई प्रमुख साह नेतृत्वको टोलीले भ्रमरपुरा, रतौली र महोतरी केन्द्रबाट गरि ३० थान मोवाई नियंत्रणमा लिएको छ ।
यसअघिका अंग्रेजी, नेपाली र गणित विषयका परीक्षाबाट ६३ थान मोबाईल वरामद गरेको प्रजिअ गेलालले बताउनु भयो । सबै मिलाएर अहिलेसम्म ९३ थान मोवाईल सेट बरामद भएको छ प्रजिअले भन्नु भयो ।