लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिउँसो प्रदेशसभा बैठकमा सम्बोधनपछि आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् ।
लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो। दुईपटक दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मत नपुग्ने देखेपछि उनले आज राजीनामा दिएका हुन् ।

हाल लुम्बिनीमा एमालेका २९ , कांग्रेसका २७ , सभामुखबाहेक माओवादी केन्द्रका १० , राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् ।
तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी , लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन-तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक रएकजना सांसद छन् यस्तै एकजना स्वतन्त्र सांसद छन् ।
केन्द्रको सहमतिअनुसार लुम्बिनी प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।

