सन्ताेष सिंह
कान्तिबजार, चैत २७ गते ।
महोत्तरीको गौशाला स्थित कान्तिबजारमा चैते दसैको पहिलो दिन कलश यात्रा निकालिएको छ । कान्तिबजारमा रहेको दुर्गा मन्दिरमा चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैको पहिलो दिन मंगलबार कलश यात्रा निकालिएको हो ।

कान्तिबजारबाट सुरु भएको यात्रा एघारनम्बर, सातनम्बर, लक्ष्मिनिया हुदै रुपनीमा कलश भरी परडिया हुदै कान्तिबजार आएको थियो । बाजागाज सहित सुरु भएको यात्रामा २ हजार भन्दा बढी स्थानीय सहभागि भएका थिए ।

कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहा वर्षेनि चैते दशै भव्यताका साथ मनाइदै आएको छ । कलश यात्रामा सभाागिहरुलाई स्थानीयहरुले जुश, पानी, सर्वत र अबिरले स्वागत गरेका थिए । गर्मीको समयमा खालिखुट्टा हिडने समस्या हुने भएर सडक पानीले भिजाइएको थियो । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसै हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन् । असोजमा मनाईंने दसैलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैलाई चैते दसै भनिन्छ ।


चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन् । राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख छ ।

चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ । नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ । आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् । धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् । यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो । यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ । ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ ।
कलश यात्रामा मेला समितिकाे अध्यक्ष याेपेन्दर महताेकाे अध्यक्षता, प्रमुख अतिथिको रुपमा नगर प्रमुख डा. दिपेन्द्र महताे, विशिष्ट अतिथिमा वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, अतिथिमा वडा सदस्यहरु, वडा सचिव, राजनीतिकर्मीहरु, समाजसेवी, बुद्धिजीवी, व्यापारीहरु, भक्तजनहरु लगायत करिब ७ सय कलश मन्दिरमा स्थापना गरेका थिए ।






















