
नेपालकै सबैभन्दा जेठो गुरुकुल श्री राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी, महोत्तरी) नयाँ वर्ष २०८१ को बिहानीसंगै ३०६ वर्षमा पुगेको खुशीको खबर छ । वि.सं. १७७५ सालमा रामलला दास(तस्मैया बाबा)का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले यो गुरुकुल स्थापना गरेका थिए । राज गुठीअन्तर्गतको लक्ष्मीनारायण मठका मान महन्थ थिए तस्मैया बाबा । समयक्रमसंगै यो अहिले आवासीय विद्यालय बनेको छ ।
१८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो । १९१० सालमा जंगबहादुर रानाले दरबार हाईस्कुल खोलेका थिए । उनले खोलेका विद्यालयलाई नै अहिलेसम्म नेपालको सबैभन्दा पुरानो स्कुल भनेर हल्ला पिटाइएको पाइन्छ । जब कि दरबार हाईस्कुलको नामनिशान नहुँदै मटिहानी–७ मा लक्ष्मीनारायण मठबाट संस्कृत गुरुकुल सञ्चालन गरिएको थियो । पुरातात्विक विभागको अध्ययन, अनुसन्धान तथा खोजमा यो देशकै जेठो गुरुकुल अटाउन सकेको छैन । धमिराले दस्तावेज सखाप पारिसकेको छ।
पुराना पुस्ताले नयाँ पुस्तालाई यसको इतिहास लोरी, कथा, कहानीमा सुनाउँछन्। जीवित पाँच पुस्ताको जिब्रोमै यो विद्यालयको नाम छ, कति पुस्ता माटोमा मिलिसके। पुरानो संरचनालाई बचाउन ज्ञानलाई विज्ञानसँग जोड्न प्रविधिको प्रयोगको खाँचो छ।
यस गुरुकुलमा कक्षा ८ देखि १२ सम्म पढाइ हुन्छ । अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक गरी पाँच सय पूर्णांक अनिवार्य छ । जनसंख्याको बदला अनिवार्य संस्कृत भाषा पढाइन्छ । ब्राह्मण बटुकहरू देव तथा पितृकार्यका लागि कर्मकाण्ड पढ्छन् भने अन्यले ऐच्छिक गणित र शिक्षा पढ्छन्। ८ सय पूर्णांकमा वेद, ज्योतिष, व्याकरण, साहित्य, न्याय, दर्शन पाँचमध्ये एउटा विषय रोज्न पाइन्छ। कक्षा १२ पास गरेपछि नजिकै रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठमा संस्कृतकै शास्त्री र आचार्य अध्ययन गर्न जान्छन्।
उज्यालो विगत, अँध्यारो वर्तमान
लक्ष्मीनारायण मठ राज गुठीमा पर्छ । आजभन्दा साढे ५ सय वर्ष अघि यो गुठी अस्तित्वमा आएको थियो । यही गुठीबाट राजकीय संस्कृत माध्यमिक विद्यालयको उदय भएको थियो ।
बालगुरु षडानन्दजस्ता विद्वान् जन्माएको राजकीय संस्कृत गुरुकुलले तीन शताब्दी पार गरिसकेको छ । यो पाठशालाले हजारौं–हजार बटुकहरूलाई शिक्षाको ज्योति दियो। यहीबाट ज्ञान आर्जन गरेर सयौंले विद्वान्को मानपदवी पाए। कुलपति, प्राध्यापक, नेपाल सरकारको सचिव, सीडीओ, डाक्टर, इन्जिनियर, वैज्ञानिकजस्ता कैयौं लाल जन्माइसकेको छ ।
‘मिनी नेपाल’ बन्यो संस्कृत मावि
नेपालको ६ प्रदेश, २६ जिल्लाका २ सय ५ विद्यार्थी गुरुकुलमा पढ्छन् । मटिहानी बाहिरका ६० जना छन्। उनीहरू स्कुलकै होस्टलमा बस्छन् । के पहाडी, के हिमाली, के मधेसी सबै मिलेर बस्छन्, खान्छन्, पढ्छन् । राजनीति र जातीय परम्पराले चिरा परेको समाजलाई यो गुरुकुलले भावनात्मक रूपमा जोड्ने काम गरिरहेको छ। कुनै समय यस गुरुकुलमा पहाडका बाहुन र मधेसका मैथिल ब्राहमणले मात्र प्रवेश पाउँथे ।
देशमा गणतन्त्र आयो । सबैले प्रवेश पायो । चमार, पासवान, परियार, खत्वे, मुस्लिमलगायतका जातजातीका बटुकहरू एउटै भान्छाको भात खान्छन् एउटै कक्षामा पढ्छन् । यो गुरुकुल साँचो अर्थमा ‘मिनि नेपाल’ हो ।
गर्विलो इतिहास
साढे पाँच सय वर्ष पहिले मटिहानीको जंगलमा पोखरी छेउ रूखमुनि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त पिर बाबा बस्थे । रामदास (तस्मैया बाबा) लाई पिर बाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिए। एक दिन राम दासले एउटा बिरालालाई मुसाले आफ्नो वशमा पारेको अद्भुत दृश्य अवलोकन गरे। उनले पिर बाबाको भविष्यवाणी स्मरण गर्दै त्यसै ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडे र मठको स्थापना गरे। जुन अहिले पनि यथावत् छ।
त्रेता युगमा माता सीताको विवाह हुँदा मटकोरमा मटिहानीबाट माटो खनेर लगिएको थियो। जनकपुरमा त्यही माटोबाट वेदी बनाइएको थियो। माटो खनेकै ठाउँमा लक्ष्मी सागरमा तस्मैया बाबाले स्नान गर्दा भगवान् लक्ष्मीनारायणको मूर्ति भेटाएका थिए। त्यस मूर्तिलाई प्राण प्रतिष्ठा गरेपश्चात् नैवेद्यको रूपमा खीर अर्पण गरी लक्ष्मीनारायण भगवान्को मन्दिर स्थापना गरे। याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका पूर्व सहप्राध्यापक धु्रव रायका अनुसार, तस्मैया बाबाका शिष्य जयकृष्ण दास थिए। उनी आफै संस्कृतका महावैयाकरण थिए। उनले नै १७७५ सालमा संस्कृत पाठशालाको स्थापना गरे।
आफ्ना शिष्यलाई उनले स्वतन्त्र रूपमा पाणिनी व्याकरणको अध्यापन प्रारम्भ गरे। जयकृष्ण दासका शिष्य वनमाली दास पनि वैयाकरण ज्ञाता थिए। उनले पनि महाविद्यालयको सम्वद्र्धनमा तदारुकता देखाए। वनमालीका शिष्य रामरक्षा दास महन्थ भएपछि गुरुकुलमा व्याकरण विषयका साथै वेदको पनि अध्ययन–अध्यापन प्रारम्भ गरे। वनमालीको समयमा महाविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये १०८ लाई भोजनको व्यवस्था गरियो।
विस्तारै गुरुकुलमा १९६८ सालमा ज्योतिष र न्याय विषय पनि थप गरियो। पाठशालामा २००३ सालसम्म चार विभाग र चार शिक्षक कायम थिए। २००४ सालमा साहित्य विभाग थपियो। व्याकरण, वेद, ज्योतिष, न्याय र साहित्यको पढाइ हुनथाल्यो। २००८ सालमा पाठशालाको नाम राजकीय संस्कृत प्रधान पाठशाला राखियो। २००८ सालदेखि शिक्षकहरूलाई हाइस्कुलका शिक्षकले पाउने तलब दिइन्थ्यो भने उनीहरूले आचार्यसम्म पढाउँथे। २०११ सालतिर अंग्रेजी विषयको पनि त्यसैमा पढाइ हुनथाल्यो। २०२५ सालमा तत्कालीन श्री ५ को सरकारद्वारा पाठशालाबाट उच्च कक्षा हटाई माध्यमिक कक्षा कायम गरियो। तत्कालीन मानमहन्थ कौशलकिशोर दासले पाठशालाकै शिक्षकहरूबाट निजी स्रोतमा लक्ष्मीनारायण महाविद्यालयको स्थापना गरे। त्यो महाविद्यालय पनि प्रधान पाठशाला(हालको राजकीय संस्कृत मावि)कै भवनमा सञ्चालन गरियो।


