
काठमाडौं, बैशाख ३ गते ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो ।

यो जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
नेपालका लागि आसिफ शेखले ४० रनको योगदान दिए भने कुशल भुर्तेलले ३२ रन जोडे । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।
नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

