जनकपुरधाम, बैशाख १५ गते ।
आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
इलाम उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू लगायत १९ जना चुनावी मैदानमा छन् ।
कांग्रेस, एमाले र रास्वपका उम्मेदबारलाई टक्कर दिँदै डेकेन्द्र सिंह लिम्बू पहिचान पक्षधरको तर्फबाट साझा उम्मेदबार छन् । उनको उम्मेदवारीलाई धेरैले परिपक्व र जित्न सक्ने उम्मेदवार समेत भनेर चर्चा गरिरहेका छन् । उनलाई धरानका मेयर हर्क साङ्पाङले खुलेरै समर्थन गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले समेत खुलेरै स्वतन्त्र उम्मेदवार डेकेन्द्रलाई मत दिन अपिल गरेका छन् ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमको जित्ने सम्भावना बलियो भएको अनुमान गरिँदैछ ।
यसैगरी, बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा, जनता समाजवादी पार्टी नेपालको तर्फबाट रामबहादुर जाग्री र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा छन् ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ ।

