पवन प्रसाद साह
बिरगंज, बैशाख १९ गते ।
पर्साकाे बिरगंज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
पटेलनगरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको परिसरमा आयोजित शिविरमा १८७ जना पुरुष, १५७ जना महिला र ३७५ जना बालबालिका गरी ७ सय १९ को स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधि वितरणपनि गरिएको शिविरका इन्चार्ज विकास गुप्ताले जानकारी दिए ।
शिविरमा जेनलल मेडिसिन, गाइनो, अर्थोपेडिक, दाँत, नाक, कान, घाँटी, मुटु, छाला लगायतका समस्याको चेकजाँच गरिएको थियो ।शिविरमा नेशनल मेडिकल कलजेका डाक्टर प्रवेज अन्सारी, डाक्टर प्रवीण साह, डाक्टर ओमप्रकाश पडित, डाक्टर अभिनाष सिंह, डाक्टर फिरोज अन्सारी, डाक्टर श्वाती साह, डाक्टर सन्जिव लगायतका चिकित्सकको टोलीले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
शिविरको उद्घाटन हिमाल डिष्टिलरी प्रालिका जेनरल म्यानेजर नवीन उपाध्यायले गरेका थिए । शिविरमा नेशनल मेडिकल कलेजका प्रशासन अधिकृत शेख फिरोजकोपनि उपस्थिती थियो ।