जनकपुरधाम, जेष्ठ १९ गते ।
बेरोजगारी समस्या समाधान गर्ने उद्देश्यले जनकपुरमा दुईदिने श्रमाधान रोजगार मेला सुरु भएको छ ।
आईतवारसम्म चल्ने मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्था लगायत ३५ भन्दा बढी स्टल राखिएका छन् ।
श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर लगायत स्टल छन् । कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित रोजगारीमा जोड्न रोजगार परामर्श स्टल राखिएको छ ।
विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएका छन् । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएका छन् । यसअघि हिजो र अस्ति विराटनगरमा श्रमाधान मेला सम्पन्न भइसकेको छ । सातै प्रदेशमा यो मेला आयोजना गर्ने तय भएको छ ।