माेरङ, असार ११ गते ।
मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार खोला तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा ९:५० बजेतिर शव फेला परेको तामाङले बताए । उनका अनुसार बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ ।
विद्यालयका प्रधानाध्यापक सुजन थेवेका अनुसार याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ आइपुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्छ । २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि आउने गरेको छ ।