राहुल गुप्ता
बिरगंज, असार १२ गते ।
ट्राफिक सप्ताहको अन्तिम दिन बुधबार वीरगन्जमा ९० जना चालक र सहचालकको निःशुल्क आँखा जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा बिरगन्जको नयाँ बसपार्क परिसरमा घुम्ती शिविरको आयोजना गरि सार्वजनिक यातायातका चालक र सहचालकहरुको निःशुल्क आँखा जाँच गरिएको हो ।
ट्राफिक प्रमुख प्रहरी भाष्कर खतिवडाले सवारीसाधन चलाउँदा स्वास्थ्य जाँच गर्नेबारेमा समेत फुर्सद नभएका चालकहरु लाई सडकमै आफ्नो आँखा जचाउन पाए पछि खुशी भएको र अस्पताल पुगेर जचाउनुपर्ने बाध्यता अहिलेलाई टरेको छ उनले बताए । दृष्टि कमजोर हुँदा दुर्घटना हुन सक्ने भन्दै सामुदायिक अस्पतालको सहयोगमा अभियान चलाएको उनले बताए ।
शिविरमा वीरगन्ज सामुदायिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले चालक र सहचालक गरी ९० जना जनाको आँखा जाँच गरेको ट्राफिक प्रहरी सहायक निरीक्षक लालबाबु सहनीले जानकारी दिए ।
नयाँ बसपार्क परिसरमै आयोजित शिविरमा वीरगन्ज सामुदायिक आँखा अस्पतालका प्रभु चौरसिया, मुस्कान श्रेष्ठ लगायतको टोलीले चालक र सहचालकहरुको आँखा परीक्षण गरेका थिए ।

