काठमाडौं, असार ३० गते ।
त्रिशूलीमा खसेका दुईवटा बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ । खोजीकै क्रममा सिमलतालभन्दा ४० किलोमिटर तल भरतपुर–२८ गोलाघाट नजिकै आज एउटा शव भेटिएको छ ।
हिजो एक भारतीय सहित तिन जनाको शव भेटिएर सनाखत भइसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार हिजो भेटिएकामध्ये एक शव चितवनको माडी नगरपालिका–१ का विकास परियारको रहेको खुलेको छ । विकास गौरबाट काठमाण्डौँको लागि छुटेको बसमा रहेका पुष्टि भएको छ ।
त्यस्तै हिजो सर्लाही बरहथवा नगरपालिका–३ का वर्ष १९ का रमित कुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपाल साहको पहिचान भएको थियो ।
दुईवटा बसमा कम्तिमा ५० जना यात्रु रहेको आशंका गरिए पनि यकिन विवरण थाहा भइसकेको छैन ।
बस र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिईएको छ ।
त्यस्तै नम्बर–१७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको टोलीले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलै गस्ती गर्दै खोजी गरिरहेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्
काठमाडौँबाट गौरतर्फ गईरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र बिरगञ्जबाट काठमाडौँतर्फ गईरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

